छरपस्ट छरिएर रहेका ति
अन्तर हृदयका कुना-कन्तराका
मायाका थोपा-थोपा थुपारेर
आज ..
यो मुटु भरि पोको पारेर
तिमीलाई
कोसेली पठाउने जमर्को गर्दै छु,
मनको हुलाकीलाई !
त्यहि देउराली, भन्ज्यांग
अनि...
चौतारीहरुमा तिमीलाई
पर्खदै पर्खदै ...
मनका व्यग्र चाहना
र
उत्साहहरुको
कुम्लो बोकेर
फेरी फर्कन्छु,
कतै....
तिमि आयौ कि ?
खुईया ....
उकालो धेरै बाँकी रहेछ
जिन्दगिको
अनि,
तिम्रो लठरम्मे
पिरती फुलेको देश पुग्ने बाटोको
तै पनि..
घ्रिसिदै-घ्रिसिदै
जिन्दगीको अर्को कोष...
तिम्रो सु-सज्जित
मायाका कोसेलीहरुसँग
मित-मितेरी लगाउन
आतुर मन
चलिरह्यो-चलिरह्यो !
मन भरि तिम्रै माया
उनिरह्यो-उनिरह्यो !
त्यो जिन्दगीको प्रत्येक खुट्किला सँगै !
प्राप्तिको मिठो प्रतिक्षा सँगै !!